काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस सकिएको छ। सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ। सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ।