काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै आज (बिहीबार) पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
प्रधानमन्त्री दाहालले विवादित अभिव्यक्ति दिएर राष्ट्रिय स्वाभिमानमा आँच पुर्याएको भन्दै एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध परेको हो । बैठक सुरु भएलगत्तै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र नदिएसम्म बैठक सञ्चालन गर्न नदिने बताए ।
‘राष्ट्रियता र स्वाधीनतामाथि आँच पुग्ने अभिव्यक्ति बारम्बार बोल्ने व्यक्ति प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य छैनन् । तसर्थ नैतिकताका आधारमा राजीनामा दिनुपर्छ,’ एमाले सांसद श्रेष्ठले भने ।
एमालेको अवरोधपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भोलि (शुक्रबार) सम्मका लागि बैठक स्थगित गरेका छन् । सोमबार व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्ने क्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक-पटक दिल्लीसमेत धाएको अभिव्यक्ति दिएका थिए ।