काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि सोमबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि सोमबार बसेको राष्ट्रियसभा बैठक पनि आगामी साउन २४ गते बुधबारसम्मका लागि स्थगित गरिएको हो। बैठकको सुरुमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने अडान राखिन्।
सरकार र सत्तारुढ दलमा आवद्ध नेताहरु आफैं उक्त प्रकरणमा मुछिएकाले सो प्रकरणको छानविन गर्न सरकारी निकायहरु समक्ष नहुने भएकाले आफ्नो पार्टीले निष्पक्ष छानविनका लागि उच्चस्तरीय समितिनै बनाउन माग गर्नु परेको उनले स्पष्टीकरण दिइन्।