काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा प्रवाहमा जनताले अनुभूति गर्न सक्ने गरी सुधार गर्न मन्त्री, सचिव तथा विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार विभागीय मन्त्रीसँग कार्यदसम्पादन सम्झौतामा हस्ताक्षरपछि मन्त्री र सचिवलाई संयुक्त सम्बोधन गर्दै उनले छिटोछरितो, गुणस्तरीय र लागत किफायती हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मासिक रूपमा हासिल गरेको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्डका आधारमा कार्यसम्पादन मूल्यांकन गरिने बताए । ‘म र मन्त्रीबीच वार्षिक लक्ष्य किटानीसहित कार्यसम्पादन सम्झौता भएको छ ।
आयोजना कार्यान्वयनमा नेतृत्वको ठूलो भूमिका रहेको र कार्यान्वयनमा उत्पन्न हुने बाधा अड्चन फुकाउने र अन्तरनिकाय समन्वयको दायित्व पनि मूलतः नेतृत्वको नै भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले मन्त्री, सचिव तथा विभागीय प्रमुख र आयोजना प्रमुखलाई आफूमातहतका आयोजना तोकिएको समयमै सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा नतिजा हासिल हुने गरी कार्यसम्पादन गर्न निर्देश गरे ।