काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) जान लागेका नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ उल्लेख गरिएको छाप लगाइएको घटनामा अध्यागमन विभागले दुई अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।
प्रचलित कानुन तथा विभागीय निर्णय विपरीत कार्य गरेको ठहर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ती अधिकृतलाई तत्कालका लागि जिम्मेवारीमुक्त गरिएको विभागले जनाएको छ । उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।
विमानस्थलबाट युएई प्रस्थान गर्न लागेका केही नेपालीको पासपोर्टमा नियमित प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विषय सार्वजनिक भएको थियो । घटनापछि विभागले वैशाख ३ गते नै छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो ।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा नेपाली नागरिकलाई शर्त तोकेर विदेश जान अनुमति दिने कुनै पनि नीति वा निर्णय नभएको स्पष्ट पारिएको छ । विभागले नीतिगत व्यवस्थाभन्दा बाहिर गई यस्तो कार्य गर्ने अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट हटाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
साथै, विभागले आफ्ना कर्मचारीलाई प्रचलित ऐन, नियम र परिपत्रको दायराभित्र रही काम गर्न निर्देशन दिँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

