काठमाडौं। नेपाल–भारत स्थल सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले अब पाँच सय रुपैयाँसम्मका निजी प्रयोगका सामान भन्सार महसुल नतिरी ल्याउन तथा लैजान पाउने भएका छन्। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै यसअघिको एक सय रुपैयाँको सीमा बढाएर पाँच सय रुपैयाँ पुर्याएको हो।
नयाँ व्यवस्थाअनुसार भन्सार कार्यालयका प्रमुखले वस्तुको प्रकृति र औचित्यका आधारमा पाँच सय रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भन्सार महसुल नलिई प्रवेश वा निकासी गर्न सक्नेछन्।
यो निर्णय केही समयअघि लागू गरिएको कडा व्यवस्थापछि आएको हो। एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान भित्र्याउन नपाइने व्यवस्थाले सीमा क्षेत्रमा व्यापक असन्तुष्टि पैदा गरेको थियो। स्थानीय व्यवसायी, सर्वसाधारण तथा सीमावर्ती क्षेत्रका बासिन्दाले उक्त व्यवस्थाप्रति विरोध जनाएका थिए। विषय संसद्सम्म पुगेपछि सरकारमाथि नियम पुनरावलोकन गर्न दबाब बढेको थियो।
त्यसक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक रूपमा उक्त व्यवस्था अघिल्लो सरकारको पालामा लागू भएको उल्लेख गर्दै छुटको सीमा बढाइने प्रतिबद्धता जनाएका थिए। हालको निर्णयलाई सोही प्रतिबद्धताको कार्यान्वयनका रूपमा हेरिएको छ।
यससँगै भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि दिइँदै आएको सुविधा भने यथावत् राखिएको छ। विद्यार्थीहरूले अध्ययन प्रयोजनका लागि ट्याब्लेट वा ल्यापटपमध्ये एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था कायम रहने अर्थ मन्त्रालयले जनाएको छ।
सरकारको यो निर्णयले सीमा नाकाबाट दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, सीमा क्षेत्रमा देखिएको असन्तुष्टि कम गर्न र व्यवहारिक भन्सार व्यवस्था कायम गर्न पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

