काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको पुनरावलोकन गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले आइतबार निगमका कार्ककारी निर्देशक उमेशप्रसाद थानीलाई बोलाएर सरकारलाई जानकारी नै नदिइ मूल्यवृद्धि गरिएको भन्दै असन्तुष्टि जनाए। प्रधानमन्त्री प्रचण्डले मूल्यवृद्धि फिर्ता लिन वा पुनरावलोकन गर्न निगमलाई निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेपछि कार्यकारी निर्देशक थानीले स्वचालित मूल्य प्रणाली लागू गरिएको र भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएका कारण बढाउने निर्णय भएको जानकारी दिएका थिए।
प्रधानमन्त्रीले मूल्य घटाउन निर्देशन दिइसकेको जानकारी दिँदै मन्त्री शर्माले त्यससम्बन्धमा आयल निगमले सूचना जारी गर्ने बताइन्। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । पुरानै मूल्य कायम हुँदा ग्याँसको मूल्य प्रतिसिलिण्डर १९९५ रुपैयाँ हुनेछ ।