काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छोडेको छ । गाउँपालिकाले दोर्दी कोरिडोरमा संचालित हाइड्रोपावर कम्पनीहरुको आर्थिक सहयोग दोर्दी खोला, छ्याङ्दी खोला, किसेदी खोला, प्यार्दी खोलामा माछाको भुरा छोडेको हो ।
दोर्दी गाँउपालिकाका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका खोलामा गाउँपालिका अध्यक्ष युवराज अधिकारीले असला, रौ र नैनी प्रजातिका माछाको भुरा छाडेका हुन् । अहिले खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र प्रबद्र्धनका लागि उक्त कार्यक्रम गरिएको गाँउपालिका अध्यक्ष अधिकारीले बताए ।
खोलामा बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षणका लागि उक्त कार्यक्रम गरेको गाँउपालिका अध्यक्ष अधिकारीले बताए । उनले खोलाको संरक्षण गर्ने सबै गाउँबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्दे खोलामा करेण्ट तथा विभिन्न प्रकारका विष नहाल्न पनि पालिकाबासीलाई अध्यक्ष अधिकारीले अनुरोध समेत गरे ।
गाउँपालिकाले जलिय जैबिक बिविधता संरक्षण तथा समुदायको जीविकोपार्जनमा सहजता ल्याउन माछाका भुराहरु खोलामा छोडेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बता ।
दोर्दी गाँउपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा माछाका भुरा छोड्ने कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सामाजिक बिकास संयोजक अम्बिका मरहट्टा, विभिन्न शाखा प्रमुखहरु, दोर्दी कोरिडोर भित्र संचालित हाइड्रोपावर कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।