काठमाडौं । लमजुङको कालिका सहकारीको रकम अपचलन गरेको आरोपमा अध्यक्षसहित ६ जना पक्राउ परेका छन् ।
बेसीशहरको सेरामा मुख्य कार्यालय रही केहि महिनादेखि बन्द रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल रहेका छन् ।
सहकारीका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र उनको श्रीमती सहकारीका कोषाध्यक्ष विनिता घिमिरे भने फरार रहेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना गरेर ठगी गरेकोले निजहरु उपर कारबाही गर्न ४५ बढी बचतकर्ताहरुले सहकारी ठगी शिर्षकमा प्रहरीमा जाहेरी दिएका थिए ।
पक्राउ परेकाहरुलाई आइतबार दिउँसो लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।