काठमाडौं । हरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरूले सङ्घीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आज मङ्गलवार प्रदेशका गृहमन्त्रीहरूले संयुक्तरूपमा सङ्घीय सरकारका गृहमन्त्री श्रेष्ठलाई भेट गरी यथाशीघ्र प्रहरी समायोजन गर्न माग गरेका हुन् । उनीहरूले प्रहरी कर्मचारी तथा संरचनाहरूलाई प्रदेशमा हस्तान्तरण नगर्दा प्रदेशको शान्ति, सुरक्षा प्रभावकारी हुन नसकेको गुनासाे गरे ।
गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाई प्रदेशलाई अधिकार सम्पन्न बनाउन आग्रह गरिएको बताउनुभयो । उहाँले सङ्घीयतालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न विशेष अनुरोध गरिएको पनि जानकारी दिए ।
ध्यानाकर्षण पत्रमा राखिएको मागबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘प्रहरी कर्मचारी समायोजन ऐन २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन २०७६ सङ्घीय संसदबाट पारित भएर २०७६ साल माघ २८ गते प्रमाणीकरण भइसक्दा पनि संविधानको अनुसूची ६ बमोजिम नेपाल सरकारले प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने तर आजसम्म प्रहरी कर्मचारी तथा संरचनाहरूको हस्तान्तरण हुनसकेको छैन । जसले गर्दा संविधानले प्रदान गरेको प्रदेशको शान्ति, सुरक्षाजस्ता प्रदेशको एकल अधिकारको विषय प्रभावकारीरूपमा कार्यान्वयन हुन सकेको छैन । अतः सङ्घीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावनाअनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन समायोजनका लागि आवश्यक कारबाही अगाडी बढाइदिन गृहमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’