काठमाडौं । लमजुङमा दिदीबहिनीलाई नै जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय पुरूष पक्राउ परेका छन् । लमजुङ प्रहरीले क्व्होलासोथार गाउँपालिका-३ का उदिमजंग गुरुङलाई पक्राउ गरेको हो । १२ र १४ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गत बिहीबार पक्राउ परेका गुरुङविरुद्ध शुक्रबार जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले निषेधित कसुर अपराध जबर्जस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकालाई भदौ २४ र १२ वर्षीया बालिकालाई कात्तिक २६ मा जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले २ जना बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा गुरुङविरुद्ध मुद्दा अघि बढेको बताए ।