काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता उल्लंघन भएको जानकारीपछि निर्वाचन आयोगले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न सीडीओलाई आयोगबाट निर्देशन दिइएको जानकारी दिए ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न प्रचलित कानून र आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता पालना गर्न/गराउन सम्बन्धित सबैमा अपिल गरेको छ ।
आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलका भातृ संगठन वा अन्य व्यक्ति तथा संघसंगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको जनाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भएको जनाएको छ ।