काठमाडौं । सरकारले सवारीकाे इम्बोस्ड नम्बर प्लेट ट्र्याक गर्न रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) प्रयोग गर्ने भएको छ ।
पहिलाे चरणमा बिहीवारदेखि इम्बोस्ड पहिचान गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) प्रयोग गर्न लागेकाे यातायात व्यवस्था विभागले जनाएकाे छ ।
मंगलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल प्रहरीलाई पाँच थान आरएफआईडी हस्तान्तरण गरेका थिए । यसअघि इम्बोस्ड नम्बर प्लेट वितरणको काम अगाडि बढेपनि त्यसमा भएको विवरण रिड गर्ने मसिन थिएन ।
२०७२ मा सरकारले २५ लाख इम्बोस्ड नम्बर प्लेटका लागि टाइगर डेकाटुरसँग सम्झौता गरेको थियो । उक्त सम्झौतामा १० ओटा आरएफआईडी गेट निर्माण गर्ने र १०० ओटा आरएफआईडी मसिन उपलब्ध गराउनुपर्ने उल्लेख थियो । त्यही सम्झौता बमोजिम प्राप्त भएका आरएफआईडी डिभासइमध्ये पाँच थान डिभाइस हस्तान्तरण गरिएको हो ।
देशभर १० ओटा आरएफआईडी गेट निर्माण गर्ने सम्झौता भएपनि सुरुवाती चरणमा काठमाडौंमा तीन ओटा गेट निर्माण भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार नागढुङ्गा, मुड्खुभन्ज्याङ जाने बाटो र एकान्तकुनामा गेट निर्माणको काम भइरहेको छ ।