काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् । कमिटीको नवौँ जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।
विष्टले दुई सय ८८ मत प्राप्त ल्याएका छन्। यसअघि विष्ट एमाले बेसिशहर नगर कमिटीको अध्यक्ष थिए । यस्तै उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । उपाध्यक्षमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले सुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै विजयी भएका हुन् । गुरुङले दुई सय ४२ मत ल्याए भने पौडेलले दुई सय ३७ मत ल्याए ।
त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी भएका छन् । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गर्नुभयो भने मिश्रले एक सय १९ मत ल्याएका छन्।
उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गर्नुभयो भने अधिकारले एक सय २९ मत प्राप्त गरेका छन् ।