लमजुङ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदीपुर अँधेरी खोलामा गएको पहिरोमा जाली लगाउने काममा ढिलाइ भएको छ।
सडक अवरुद्ध भइरहेकाले उक्त काम जतिसक्दो छिटो सम्पन्न गरी सडक सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेल सक्रिय रुपमा लागि परेका छन् ।
प्रजिअ पोख्रेलले दैनिकरूपमा अनुगमन गर्दै जाली राख्ने काममा आवश्यक समन्वय र सहजीकरण गरिरहेका छन्। यद्यपि, काम अझै सम्पन्न हुन सकेको छैन। पर्खालको उचाइ बढ्दै गएपछि जालीमा ढुंगा भराइ गर्न समस्या देखिएकाले ढिलाइ भएको जानकारी प्राप्त भएको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी पोख्रेलसहित डिभिजन वन कार्यालयका प्रमुख दीपक पण्डित, वडा अध्यक्ष दुर्गाबहादुर बुढाथोकीलगायतले स्थलगत अवलोकन गरेका छन्। उनीहरूले जति सक्दो छिटो काम सम्पन्न गरी सडक सुचारु गर्न निर्देशनसमेत दिएका छन्।
स्थानीयवासी र यात्रुहरूले लामो समयदेखि सडक अवरुद्ध हुँदा सास्ती भोग्नुपरेको भन्दै सम्बन्धित निकायले समयमै काम सम्पन्न गर्नुपर्ने माग गर्दै आएका छन्।