काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले नगरप्रमुखको रुपमा २०७४ साल असोज ७ देखि २०७९ माघ २९ सम्म नगरप्रमुख रहँदाको अवधिमा उनले सार्वजनिक पदको दुरुपयोग गरी ५ करोड ३३ लाख ५३ हजार सय ८९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ । त्यहीअनुसार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनी माओवादीबाट निर्वाचित हुन् । उनले सर्लाहीमा ‘भरत ताल’ समेत निर्माण गरेका छन् । उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि परेपछि अख्तियारले उनी अघिल्लो कार्यकाल मेयर हुँदाको अवधिको सम्पत्ति छानबिन गरेको थियो । थापाले सेवा प्रवेश गर्नुअघिको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैंक मौज्दात रकम, निजले सार्वजनिक सेवामा प्रवेशपश्वात प्राप्त गरेको पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण/कर्जा आय, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ ४८ पैसा मात्र वैधानिक रहेको आयोगको ठहर छ ।