काठमाडौं । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जनाएको हो ।
सुदुरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भू-भाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भू-भाग, मधेश प्रदेशको मध्य भू-भाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने विभागको आँकलन छ ।
यस्तै, अधिकतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना छ । देशका अधिकांश स्थानमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ । कर्णाली प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको मध्य भू-भाग तथा कोशी प्रदेशको उत्तर-पूर्वी भू-भागको तापक्रम सरदर रहने छ ।