काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालेले गरेको आग्रह अनुसार तीन महिनाको अवधिमा आठ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेका छन्।
शिक्षा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा मन्त्री सुमना श्रेष्ठले मंगलबार गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। मन्त्री श्रेष्ठले आफुले पदभार समाले यता आठ सय २५ शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको जानकारी दिएकी हुन्।
श्रेष्ठ गत फागुन २३ गते मन्त्री नियुक्त भएकी थिइन्। श्रेष्ठले यस विचमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको पनि बताइन्।
शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी भएको भनाई मनत्री श्रेष्ठको थियो । ‘शिक्षकले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाउने र राजनीति गर्न नपाउने एजेन्डा लागू गरेरै छोडिने छ,’ पत्रकार सम्मेलनमा उनले भनिन्।
उच्च शिक्षा (विश्वविद्यालय) मा पदाधिकारी नियुक्तिको लागि कार्यविधि तथा मापदण्ड बनाएर काम गरिरहेको जानकारी समेत मन्त्री श्रेष्ठले दिइन् । शिक्षा क्षेत्रमा राजनीतिक भागबण्डाको आधारमा नभई मेरिटको आधारमा पठाउने पद्धति विकास गरिएको भनाई पनि राखिन्।
यस्तै, शिक्षा क्षेत्र सुधारको लागि विभिन्न समयमा भएका अनियमितामा आयोगहरूले गरेको प्रतिवेदन खोलेर अनुसन्धान प्रक्रियाको थालनी गरिएको जानकारी समेत दिइएको छ।
पत्रकारले राखेको जिज्ञासामा मन्त्री श्रेष्ठले शिक्षा विधेयक व्यवस्थापिकाको समितिमा छलफलमा रहेको बताउँदै कहिले आउँछ भनेर आफूलाई यकिन नभएको र आफ्नो हातमा पनि नभएको बताइन्।