काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ। उपभोक्ता अदालतले चिकित्सक तथा अस्पतालहरूलाई उपचारमा लापरबाहीको आरोपमा क्षतिपूर्ति तिराउने निर्णय गर्न थालेपछि चिकित्सकहरू आन्दोलित बनेका हुन्।
सेवा बहिष्कारका कारण देशभरका सामान्य उपचार, चेकजाँच, शल्यक्रिया र ओपीडी सेवाहरू ठप्प हुँदा बिरामीहरू मर्कामा परेका छन्। विशेषगरी ग्रामीण क्षेत्र र सहरका सरकारी अस्पतालहरूमा उपचारको लाइनमा बसेका सर्वसाधारणले कठिनाइ झेलेका छन्।
नेपाल चिकित्सक संघले अदालतका पछिल्ला फैसलालाई चिकित्सा पेशामाथिको प्रत्यक्ष दबाब र असुरक्षा ठहर गर्दै संवेदनशील विषयमा यथोचित न्यायिक विवेक नअपनाएको आरोप लगाएको छ।
संघको आह्वानमा भएको यस आन्दोलनमा नौवटा ठूला स्वास्थ्य संस्थाले ऐक्यवद्धता जनाएका छन्। ती संस्थाहरूले पनि आकस्मिकबाहेकका सेवा बन्द गर्दै चिकित्सक संघको मागलाई समर्थन गरेका छन्।
चिकित्सकहरूको भनाइमा, उपचारमा अनपेक्षित परिणाम आउनु र लापरबाही हुनु फरक कुरा हो, तर हालका केही अदालतका निर्णयले चिकित्सकहरू डर र अन्योलमा काम गर्न बाध्य बनाएको छ।
नेपाल चिकित्सक संघले तत्काल नीतिगत स्पष्टता र न्यायिक संयमता अपनाउन आग्रह गर्दै समस्याको समाधान नभए आन्दोलनका थप चरण सार्वजनिक गर्ने चेतावनी दिएको छ।