काठमाडौं । अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान बिन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान बिन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।
यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिए । यसले रेफर लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झण्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।
यसैगरी, मन्त्रिपरिषदबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताए ।
यसैगरी, संशोधन अनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम हुनेछ । हाल स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन् । अब संशोधन अनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ ।
यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।