काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवलाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यादवलाई ९ वर्ष १ महिना कैद र ३ करोड ५९ लाख ६६ हजार ६०० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
अन्य प्रतिवादीहरू लक्ष्मणप्रसाद यादव, रामदरास राउत, शेरबहादुर राउत, कृष्णप्रसाद गौतम, लीलामणि आचार्य र सन्दीप नेपालीलाई जनही २ वर्ष ६ महिना कैद सजाय गरिएको छ ।
अदालतले लक्ष्मणप्रसाद यादव र रामदरस राउतलाई थप ३ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा विशेषले असार ११ गते तत्कालीन मन्त्री यादवसहित ५ जनालाई दोषी ठहर गरेको थियो । झलनाथ खनाल प्रतिष्ठानमा सर्पपालनका लागि करोडौं रूपैयाँ खर्च गरिएको विषय चर्चामा समेत आएको थियो ।
