काठमाडौं । बाढी र पहिरोले सडक बगाउँदा लमजुङ बेसिशहर नगरपालिका–११ चितिका स्थानीयलाई आवात जावतमा समस्या भएको छ । केही दिन अघि आएको बाढीसँगैको पहिरोले सडक बगाउँदा रुम्टाबेसी, बजारखुट्टा र बुढीकुवा बरहबोट गाउँका स्थानीयलाई आवागमनमा समस्या भएको हो ।
बेसिशहर नगरपालिका –१ बाट वडा नम्बर ११ चिति जोड्ने रिट्ठेबगर–बूढीकुवा खण्डअन्तर्गत वडा नम्बर १ रिट्ठेबगरमा पहिरोले सडक बगाएपछि यातायातका साथै पैदल यात्रा गर्न सक्ने अवस्था समेत छैन ।
आइतबार सदरमुकाम बेसिशहरमा आयोजित पत्रकार सम्मेलनमा वडा नं. ११ का वडाध्यक्ष शिव जोशीले सो स्थानमा मर्स्याङ्दी नदीको बाढीका साथै सडक माथिबाट पहिरो आउँदा एक किलोमिटर बगाएको जानकारी गराए ।
तीन गाउँका स्थानीयलाई एम्बुलेन्समार्फत बिरामी लैजान, विद्यालयमा पठनपाठन गर्न जान र दैनिक उपभोग्य सामान ढुवानी गर्न समस्या भइरहेको उनको भनाइ छ ।
सत्तरी मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजनाद्वारा निर्मित ड्यामबाट आठ मिटरमाथि रुद्धनिधि तिवारी र सुनिल तिवारीको घर उच्च जोखिममा रहेकाले निजहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि स्थानीयले माग गरेका छन् । रिट्टेबगरको पुलबाट करिब एक हजार मिटरमाथि नेपाली सेनाको ब्यारेक अगाडि घुम्तीमा नदीजन्य पदार्थको ढिस्को जम्मा भई मर्स्याङ्दीले जलसतह पार गरेपछि बाढी जाँदा सडक बगाएको वडाध्यक्ष जोशीले बताए ।
सडक माथिबाट पहिरो जाने क्रम अझै नरोकिएको उनले बताए । बेसिशहर नगरपालिका कार्यपालिकाको यसअघिको बैठक र वडा नम्बर ११ कार्यालयले उक्त ढिस्को हटाएर पानी यथास्थितिमा बग्न दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरेको थियो । समितिले उक्त समस्याका बारेमा आयोजना कार्यालयलाई पत्राचार गरी समस्याका बारेमा जानकारी गराइएको जनाएको छ ।
यसैबिच, आयोजनाले सो ढिस्को फाल्नु नपर्ने भन्दै सडक अन्यन्त्र सार्नुपर्ने प्रतिवेदन तयार गरेर समितिमा पठाएको थियो । उक्त प्रतिवेदन आयोजनाले स्थलगत अध्ययन नगरी बनाएको हो । प्रतिवेदनका आधारमा ढिस्को नहटाउँदा बाढीले सडक बगाएको वडाध्यक्ष जोशीले बताए ।
ढिस्को नफालेकाले गण्डकी प्रदेश सरकारले चालु वर्षमा निर्माण गरेको जालीसहितको तटबनधनमा समेत क्षति पुगेको भन्दै उनले सडकको अन्य भाग पनि बाढी पहिरोको उच्च जोखिममा परेको बताए ।
वडा कार्यालय र स्थानीयले आइतबार बेसिशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई सो समस्या समाधानका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
हेर्नुहोस् ज्ञापनपत्र
सम्बन्धित समाचार
मध्य-मर्स्याङ्दी जलविद्युतको ड्याम साइड नजिकै पहिरोः बस्ती उच्च जोखिममा(भिडियोसहित)