काठमाडौं। नेकपा माओवादी केन्द्रबाट औपचारिकरूपमा अलग भएका नेता जनार्दन शर्माले नयाँ ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन्।
मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियानको औपचारिक घोषणा गर्दै यसलाई राष्ट्र निर्माण र प्रगतिशील मूल्यको सुदृढीकरणका लागि सुरु गरिएको स्पष्ट पारे। कार्यक्रममा माओवादी नेता राम कार्की, अञ्जना विशंखे लगायतको पनि उपस्थिती थियो।
शर्माले भने, “हामी समग्रमा प्रगतिशील अभियान चलाउँदै लोकतान्त्रिक र वामपन्थी मूल्य आत्मसात गर्ने प्रयास गर्दैछौं। राष्ट्रका पक्षमा स्वयंसेवा गर्न चाहने सबैसँग सहकार्य गरेर अघि बढ्नु हाम्रो नीति हो।”
उनका अनुसार यो अभियान राष्ट्र निर्माणको अभियानका रूपमा रूपान्तरण गरिनेछ र देशका प्रगतिशील, लोकतान्त्रिक तथा वामपन्थी शक्तिलाई एकजुट पार्ने उद्देश्य राखिएको छ।
नेता शर्माले थपे, “हामी अध्यक्ष वा उपाध्यक्ष बन्ने लक्ष्यका लागि होइन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर अनुभव बाँड्ने र मार्गनिर्देशन गर्ने उद्देश्यले अघि बढेका हौं। सहिद सन्तति र नयाँ पुस्ता नै अबको साँचो नेता हुन्।”
शर्माले पार्टी र आन्दोलनलाई नयाँ राजनीतिक कोर्षमा अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

