काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ सय दिनभित्र त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि बस्ने लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यसैबीच सरकारले विपद्मा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढी पहिरोजस्ता विपद्मा बेपत्ता भइ १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने निर्णय गरेको सञ्चार मन्त्री गुरूङले जानकारी दिए ।