काठमाडौं । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना आमा छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् । घाइते हुने चालकमा पोखरा-१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।
घाइते विद्यार्थीमा पोखरा-२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, ९ वर्षीय दिवस कार्की, ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा १७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा-२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा-१७ की सिजा विक, पोखरा-२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।