काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहेको छ । राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो ।
वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबैमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक निकारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।
ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।
भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।
काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै जिल्लामा मध्यमदेखि भारी वर्षा मापन भएको विभागले बताएको छ ।
यसैबीच काठमाडौं उपत्यकामा बुधबार (आज) बिहान बाढी र डुबानमा परेका ७५ जनाको उद्धार गरिएको छ। काठमाडौं महानगरका प्रहरी निरीक्षक प्रकाश पण्डितका अनुसार सानोभ¥याङको अन्नपूर्णचोकस्थित सोनाखरी पाठशालाको होस्टेलमा पानी पसेपछि ७० बालबालिकालाई सुरक्षित स्थानमा सारिएको हो।
यस्तै नयाँ बसपार्कनेर विष्णुमती नदीको बाढीमा फसेका एक जना पुरुष व्यक्तिलाई पनि प्रहरीले उद्धार गरेको उनले जानकारी दिए।