काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउॅपालिकाले हिजो वडा-५ थामेमा लेदोसहितको आएको बाढी हिमताल फुटेर आएको जनाएको छ। गाउँपालिकाले हिमताल फुटेका कारण उक्त बाढी आएको पुष्टि गर्दै भिडियो पनि सार्वजनिक गरेको छ।
गाउँपालिकाले भिडियो हाल्दै भनेको छ,‘वडा-५ थामेमा आएको बाढीको विषयमा हेलिकप्टरमार्फत स्थलगत निरीक्षण गर्दा पोखरी फुटेर बाढी आएको पुष्टि भएको छ।’
सोलुको थुलुङदूधकोशी गाउँपालिका वडा ७ का अध्यक्ष भोजराज कार्कीले थामे गाउँमाथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दूधकोशी नदीमा पानीको बहाव बढेर बाढी आएको पुष्टि भएको बताए।
उनले अझै २ वटा पोखरी उच्च जोखिममा रहेको स्थलगत अध्ययनको निष्कर्ष रहेको भन्दै सचेत रहन सामाजिक सञ्जालमार्फत आग्रह गरे। उनले भनेका छन्,‘अझै २ वटा पोखरी उच्च जोखिममा रहेको स्थलगत अध्ययनको निष्कर्ष छ,त्यसैले दूधकोशी नदि तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन सम्पूर्ण स्थानीय नागरिकलाई हार्दिक अनुरोध छ।