काठमाडौं । सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्। ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका हुन्।
संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखले पछिल्लो समय पद अनुकूलको आचरण नगरेको उल्लेख गर्दै मार्गप्रशस्त गर्न आग्रह गरे।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई काठमाडौं नछोड्न निर्देशन दिएको छ ।
मंगलबार एमालेले ३ असोजसम्म काठमाडौं नछोड्न निर्देशन दिएको एक सांसदले बताए । ती सांसदका अनुसार महत्त्वपूर्ण विधेयकहरू पास गर्नुपर्ने र सँगसँगै बर्खे अधिवेशन अन्त्य पनि गर्नुपर्ने भएकाले काठमाडौंमै रहन निर्देशन दिइएको हो ।
सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।
सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानामाथि महाभियोग प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको प्रति रास्वपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सत्तारुढ दलले रानामाथि महाभियोग दर्ताको तयारी थालेपछि त्यसबारे छलफल गर्न काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरूको बैठक बोलाइएको सांसद अशोक चौधरीले जानकारी दिए ।