काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) घटेको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेको हो ।
गत साताको बुधबारदेखि बढ्न थालेको नेप्से यस बुधबारसम्म निरन्तर बढेको थियो । आज भने नेप्सेको बढ्ने क्रममा ब्रेक लागेको छ ।
बिहीबार कारोबारमा आएका २४२ कम्पनीमध्ये ५५ वटाको शेयरमूल्य बढेको छ । १८० कम्पनीको शेयरमूल्य घटेको छ भने ७ कम्पनी स्थिर रहेका छन् । बजारमा रहेका १३ उपसमूहमध्ये होटल एण्ड टुरिजमबाहेक सबै उपसमूहको सूचक घटेका छन् ।
आज कारोबारमा आएकाकम्पनीहरुमध्ये २ कम्पनीको लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा बाराही हाइड्रोपावर र हिमालयन पावर रहेका छन् ।
आज १ करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ३० करोड बराबर रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सुपर मादी हाइड्रोपावरको भएको छ ।