काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन यही माघ २० गते उद्घाटन गरिने भएको छ । शिलान्यास भएको १८ महिनामै भवन निर्माण गरिएको हो ।
नवनिर्मित गाउँपालिका भवनको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवनको पहिलो तल्ला अपाङ्गमैत्री रहेको छ भने भवनको संरचनामा नै बेसमेन्ट पार्किङको समेत सुविधा रहेको छ । भवनसँगैको भित्तोलाई सदुपयोग गरेर क्यान्टिन निर्माण गरिएको छ ।
२८ वटा कोठाको तीन तले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहने छ । प्रशासकीय भवन निर्माणपछि हाल शाखाहरु छरिएर रहँदा जनताले पाएको सास्ति हटेर सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास गाउँपालिकाले लिएको पालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।