काठमाडौं । खोटाङको दिक्तेलबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
केपिलासगढी गाउँपालिका ३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बिरामी लिएर काठमाडौं हिँडेको थियो।
आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरुङलाई लिएर काठमाडौं जाँदै गरेको सुमो गए राती दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जानकारी दिएका थिए।
सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन्। उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ।