काठमाडौं । सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो ।
आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो । हिजो सुनको मूल्य एक लाख ७० हजार आठ सय रुपैयाँ थियो । हिजोको मूल्यमा प्रतितोला पाँच सय रुपैयाँ वृद्धि भएपछि सुनले ऐतिहासिक रेकर्ड कायम गरेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।