काठमाडौं । लमजुङ र गोरखा जिल्लालाई जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुलको उद्घाटन गरिएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने उक्त पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।
मोटरेवल पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पुलसँगै अब यस क्षेत्रको सडकको उचित स्तरोन्नती गर्ने गरी आगामी बजेटमा योजना समेट्ने बताए ।
मुख्यमन्त्री पाण्डेले संघ, प्रदेश र स्थानिय सरकारविच विकास निर्माणका योजनाहरुमा समन्वय नहुँदा कतिपय योजनामा दोहोरोपना हुनका साथै अलमल हुने गरेको बताए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले सिमित श्रोत र साधनका बाबजुतपनि प्रदेश सरकारले नागरिकको आवश्यकतालाई प्राथमिकतामा राखेको बताए ।
सो पुल निर्माणका लागि ०७८ साल असार ९ गते काष्ठमण्डव कन्ट्रक्सन प्रालिले पुर्वाधार विकास कार्यालय लमजुङसँग सम्झौता गरेको थियो । कुल ४ करोड ३७ लाखको लागतमा ४० मिटर लम्वाइको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय प्रमुख विवेक सिग्देलले बताए ।