काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पुल केही भासिएकोले मर्मत नगरी यहि पुलबाट गाडी चलाउन सक्ने अवस्था छैन । पुल भाँचिएको ठाउँमा तत्काल डाईभर्सन गर्ने ठाउँ नभएको र नयाँ पुल पनि नबनेकाले लामो समय यातायात अवरुद्ध हुनसक्ने देखिएको छ ।
म.प्र.०३–००१ क ३१६३ नम्वरको १८ चक्के टेलर किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गर्दा भाँचिएकाे हो । करिब तीन वर्षअघि पनि सोही पुलमा प्वाल परेको थियो । हाल पुनः समस्या देखिएपछि यात्रुहरू अलपत्र परेका छन् भने सवारी साधनलाई आवागमनमा समस्या भएको छ।
बीपी राजमार्ग अवरुद्ध
सोमबार साँझ रोशी खोलामा आएको बाढीले बीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल शाहले नेपालटारदेखि नेपालथोकसम्मको खण्डमा अवरोध पुगेको जानकारी दिए।
उनका अनुसार साँझ भएको वर्षातपछि आएको बाढीले राजमार्गमा क्षति पुगेको हो। काठमाडौँबाट गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको प्रहरीले जनाएको छ। यस्तै, पूर्वबाट आइरहेका गाडी खुर्कोट र नेपालटारमा रोकिएका छन्।