काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी)ले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको आरोपप्रति कडा आपत्ति जनाउँदै भिजिट भिसाको नाममा ठगी गरेको प्रमाण पेश गर्न चुनौती दिएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै अर्यालले “सुमिरे टुर एण्ड ट्राभल्स” कम्पनी आफ्नो नाममा भए पनि सो कम्पनीमार्फत भिजिट भिसामा विदेश पठाइएको भन्ने आरोप अस्वीकार गरे।
शनिबारको संसद बैठकमा सांसद खतिवडाले सुमिरे ट्राभल्सले विगत १० वर्षदेखि जापान भिजिट भिसाको नाममा मानिस पठाएर अर्बौं रुपैयाँ असुल गरेको आरोप लगाउँदै त्यसबारे छानबिनको माग गरेका थिए।
सोही आरोपको खण्डन गर्दै सांसद अर्यालले भने, “यदि कसैले ठगी भएको प्रमाण छ भने संसदमा ल्याइयोस्, नत्र संसदको रेकर्डबाट यस्तो निराधार आरोप हटाइनुपर्छ।”
उनले भिजिट भिसाको नाममा हुने ठगीविरुद्धको आन्दोलनबाट आफूहरू पछि नहट्ने बताउँदै थपे, “कसैको सचिवालयको स्रोत घट्यो भनेर, कसैको जिल्लाको कर्मचारी पर्यो भनेर हामी हाम्रो आन्दोलनबाट पछि हट्दैनौं। हाम्रो आन्दोलन जारी छ।”
अर्यालले केही मन्त्रीका पिए बनेर भिजिट भिसामार्फत तस्करीमा संलग्न रही जेल बसिसकेका व्यक्ति नै अहिले संसदमा रहेका गम्भीर टिप्पणी पनि गरे।
सांसद खतिवडाको आरोप र अर्यालको प्रतिवादसँगै भिजिट भिसासम्बन्धी बहस संसदभित्र चर्किएको छ। अब यो विषयमा संसदमा थप बहस र सम्भावित छानबिन प्रक्रिया अघि बढ्ने देखिएको छ।