काठमाडौं । लमजुङ जिल्ला कारागारको पर्खाल क्षतिग्रस्त भएपछि अस्थायी रुपमा अन्य जिल्लामा स्थानान्तरण भएका छन् । कारागार पर्खाल भत्किएपछि उनीहरूलाई तनहुँ (३० जना) र कास्की (७८ जना) स्थित कारागारमा पठाउने निर्णय भएको थियो। तर, जिल्लामै बस्न पाउने अधिकारको माग राख्दै कैदीहरूले शुरुवाती चरणमा स्थानान्तरण अस्वीकार गरेका थिए।
प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कैदीहरूलाई स्थानान्तरण गर्नुअघि लामो छलफल र अन्तरक्रिया गरेको थियो। आफ्नो परिवार, स्वास्थ्य र अदालती सुनुवाइमा असर पर्न सक्ने चिन्ता राखेका कैदीहरूसँग संवादपछि, लिखित प्रतिवद्धतासहित स्थानान्तरणमा सहमति बनाइएको हो। पुरुष कैदीहरूलाई चारवटा बसमा, र महिला कैदीहरूलाई हाइस मोटरमा राखी सुरक्षा टोलीको साथमा नयाँ गन्तव्यतर्फ पठाइएको छ।
पर्खाल मर्मतपछि फर्कने आश्वासन
जिल्ला प्रशासन कार्यालयका अनुसार, कारागारको पर्खाल मर्मत सम्पन्न नभएसम्म ती कैदीहरूलाई हालको स्थानमा राखिनेछ। मर्मत कार्य पूरा भएपछि उनीहरूलाई पुनः लमजुङ फर्काउने निर्णय गरिने आश्वासन दिइएको छ।