चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा माथिबाट खसेको ढुङ्गाले कारमा लाग्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा आइतबार दिउँसो २:२५ बजे तिर भारतीय नम्बर प्लेट (UP 80 GP 2928) भएको कारमाथि एक्कासि ढुङ्गा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार कार चालक ४२ वर्षीय रतेन्द्र यादवको बायाँ हातमा चोट लागेको छ। त्यस्तै ३३ वर्षीय हर्मोन यादवको ढाडमा र ३५ वर्षीय हितेन्द्र यादवको हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते तीनैजनाको अवस्था गम्भीर छैन र उनीहरूलाई उपचारका लागि नजिकैको स्थानीय मेडिकलमा लगिएको छ। हालैको वर्षाका कारण पहाडी क्षेत्रमा ढुङ्गा खस्ने र सवारी दुर्घटना हुने सम्भावना बढिरहेको हुँदा प्रहरीले यात्रु तथा चालकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको छ।