काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्। सरकारको विश्वास गुमाइसकेका मुख्यमन्त्री लामाले आफ्ना पक्षका तीनालाई मन्त्री नियुक्त गरेका हुन ।
गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ मन्त्री नियुक्त भएका छन्। लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । श्रेष्ठ र गुरूङको भने जिम्मेवारी दिएका छैनन।
बागमतीमा कांग्रेसका चार मन्त्रीहरूस आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले साउन ९ गते राजीनामा दिएका थिए।
राजीनामा दिएका चार मन्त्रीसहित २१ सांसदले संसदीय दल नेताबाट लामालाई हटाउन हस्ताक्षर गरेका थिए। मन्त्रीहरूले दिएको राजीनामा आफूसमक्ष आइनपुगेको र दल नेतालाई नै हटाउन हस्ताक्षर गरेको भनेर मुख्यमन्त्री लामाले उनीहरूलाई पदमुक्त गरेका थिए।
मंगलबारको दल बैठकमा लामाविरुद्ध २२ सांसदले मत दिएका थिए, जुन संख्या कांग्रेस संसदीय दलभित्र स्पष्ट बहुमत हो । लामाको पक्षमा १५ सांसद मात्र देखिएका थिए । लामालाई हराउँदै बलियो बनेको यो समूहको नेतृत्व प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका छन्। यही समूहबाट नयाँ नेताको उम्मेदवारीमा बलियो दाबेदारी रहेको बुझिएको छ।