काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग भएको रासायनिक मल तत्कालका लागि पर्याप्त रहेको बताउँदै खेतबारी हराभरा बनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकबाट रासायनिक मलको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताए ।
तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको बताउँदै उनले कतै मलको अभाव महसूस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरेका छन् ।
‘यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ । कृषि मन्त्रालयले दिएको जानकारी अनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यतिबेला कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया १६,५३९ मेट्रिक टन, डीएपी ७,६५३ मेट्रिक टन, पोटास ४,९१५ मेट्रिक टन रहेको छ । यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ । जसमा युरिया १०,९८४ मेट्रिक टन, डीएपी ९४२ मेट्रिक टन, पोटास १,७८५ मेट्रिक टन रहेको छ । कतै मलको अभाव महसूस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध छ । खेतबारी हराभरा बनाऔं !’