काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रयास हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रचण्डले शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति तथा आम जनसमुदायलाई एकजुट भएर अघि बढ्न अपील गरेका छन्। उनले राष्ट्रिय एकता र राजनीतिक स्थिरता कायम गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले जनताको ज्यान–माल, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लूटपाट र आगजनीजस्ता गतिविधि हुनसक्ने सम्भावनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै सोको रोकथाममा सतर्क रहन निर्देशन दिएका छन्।
जनतालाई आइपर्ने सम्भावित चुनौती र समस्यासँग जुध्नका लागि पार्टीका सम्पूर्ण पंक्ति तयारी अवस्थामा रहनुपर्ने भन्दै प्रचण्डले जिम्मेवार ढंगले परिस्थितिलाई सामना गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा प्रचण्डले भनेका छन्, “यो संवेदनशील घडीमा शान्ति, संविधान र गणतन्त्रलाई सुदृढ बनाउन सम्पूर्ण प्रगतिशील शक्ति, लोकतन्त्रप्रेमी जनता र राजनीतिक दलहरूबीच सहकार्य अपरिहार्य छ।”
समाज रुपान्तरणका पक्षमा अडिग भएर लड्दै आएको पार्टी हो। हामीले समानता, स्वतन्त्रता र स्वाधीनताको लागि लामो संघर्ष गर्यौं। त्यसैले हामी र अन्य पार्टी एउटै हो भन्ने भाष्य गलत भएको दोहोर्याउन चाहन्छौं। गणतन्त्रका लागि मुक्ति या मृत्युको कसम खाएर लड्ने पार्टी र जनताको त्यस आन्दोलनलाई दमनका भरमा सिध्याउन चाहने पार्टीहरु एउटै होइनन्। गणतन्त्रको अभ्यासका क्रममा भएका कमीकमजोरीको निर्मम समीक्षा गर्दै अघि बढ्ने पार्टी हो हाम्रो। नयाँ र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने हाम्रो नीति हो। हामी यथास्थितमा बस्न चाहन्नौं। त्यसैले परिवर्तनविरोधीहरुबाट माओवादी केन्द्रबारे भइरहेका झूटो प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्न चाहन्छौं। अग्रगामी परिवर्तनका पक्षमा हुने, नेपाली जनता अधिकारसम्पन्न हुने, सुशासन र सामाजिक न्याय कायम गर्न सकिने सबैखाले आन्दोलन र पहलकदमीमा हाम्रो साथ, समर्थन रहने छ।
१०. संक्रमणकालिन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढन शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्ति र आमजनसमुदायसँग अपील गर्दछु। साथै, जनताको जीउधन, सार्वजनिक संरचना र निजी सम्पत्तिमा तोडफोड, लूटपाट र आगजनी लगायतका गतिविधि हुनसक्ने सम्भावनाप्रति सजग रहँदै जनतालाई आइपर्ने कुनै पनि खालको समस्यासँग जुध्नका लागि जनताको साथमा रही तम्तयार रहन पार्टीपंक्तिलाई निर्देशित गर्दछु।
अन्तमा, जेन जी पुस्ताले उठाएका मागहरु संविधानसम्मत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानित रास्ट्रपतिबाट भइरहेको पहल तथा शान्ति सुरक्षा कायम गर्दै त्यसमा सहजीकरण गर्न नेपाली सेनालगायतका सुरक्षा निकायले खेलिरहेको भुमिकाको सराहना गर्दै आवश्यक सहयोग पुर्याउन सबैसँग अपील गर्दछु। साथै प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रका पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दै सबै पक्षलाई संयमता, उच्च सुझबुझ, व्यापक संवाद र शान्तिपूर्णरुपमा निकासका पक्षमा लाग्न आव्हान गर्दछु।
धन्यवाद।