काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्ट नेताहरूको अकूत सम्पत्ति छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्ने बताएका छन्।
आज पत्रकार सम्मेलनमा उनले भ्रष्ट नेताहरू फेरि बाहिर निस्केर सत्तामा आउन खोजिरहेको भन्दै ती शक्तिलाई बेलैमा चिन्न आवश्यक रहेको बताए।
डा. भट्टराईले भने, ‘भ्रष्ट नेताहरूको अकूत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ। केही सम्पत्ति डढेको भनिएको छ, तर सम्पूर्ण सम्पत्ति छानबिन नगरिईकन भ्रष्टाचार अन्त्य हुन सक्दैन।’
त्यस्तै, उनले बुधबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको भए पनि नयाँ शक्ति अभियानबाट अलग नभएको प्रष्ट पारे।
‘हाम्रा नातिनातिना पुस्ता आइसकेका छन्, उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने नैतिकताका आधारमा मैले पद त्याग गरेको हुँ। नयाँ शक्ति अभियानबाट अलग भएको छैन,’ डा. भट्टराईले भने।