काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा आतंक मच्चिएको बताएका छन्। प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग आइतबार भेटवार्ता गर्दै उनले सामाजिक सञ्जालमार्फत आरोप-प्रत्यारोप, गालीगलौज र आक्रमणजस्ता तल्लोस्तरका गतिविधि बढ्दै गएकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने बताएका हुन्।
मन्त्री खरेलले भने, “सामाजिक सञ्जालको गतिविधिले नागरिकहरू अन्यौलमा परेको महसुस भइरहेको छ। सरकारी निकायमा दर्ता, नवीकरण र सूचीकरण भएका सञ्चारमाध्यमहरूको जिम्मेवारी हामीले लिनुपर्छ। व्यक्तिगत हकका विषयमा भने अनुसन्धान गर्ने अन्य राज्य निकाय छन्, तिनले हेर्छन्।”
उनका अनुसार हाल देशभर करिब २० हजारको हाराहारीमा विभिन्न सञ्चारमाध्यमहरू क्रियाशील छन् र ती माध्यमहरूको अनुगमन, नियमन र आवश्यक परे कारबाहीको दायरामा ल्याउने विषयमा प्रेस काउन्सिलले गम्भीर हुनुपर्ने बताउँदै उनले सो सम्बन्धमा स्पष्ट कार्ययोजना तयार गर्न आग्रह गरे।
मन्त्री खरेलले प्रेस काउन्सिललाई स्वायत्त निकाय भएको नाताले ‘कसैलाई काखा र कसैलाई पाखा’ नगरी निष्पक्ष रूपमा काम गर्न सुझाव दिएका छन्। उनले काउन्सिललाई आवश्यक जनशक्ति, स्रोतसाधन र संरचनाको विवरण एक हप्ताभित्र पेस गर्न निर्देशनसमेत दिएका छन्।