काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको भन्दै समयमै सचेत हुनुपर्ने बताएका छन्। बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीतर्फ जानबाट रोक्न अब सबैले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने बताए।
उनले भने, “यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ र बर्बादीतर्फ गइरहेको छ। यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउन आवश्यक छ।”
अध्यक्ष ओलीले हालको जेनजी आन्दोलनका क्रममा नेकपा (एमाले) सबैभन्दा बढी प्रहारको निशाना बनेको दाबी गरे। उनका शब्दमा, “हामी प्रहारको बढी निशानामा परेका छौं। किन निशाना परेका छौं? हामीले नराम्रा काम गरेर होइन, हाम्रा नीतिहरू राम्रा भएकै कारण हो।”
ओलीले एमाले र नेपाली कम्युनिस्ट आन्दोलनलाई एकअर्कासँग अविच्छिन्न रूपमा जोडिएको बताउँदै भने, “एमाले स्थापना कालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनको मूलधारमा रहँदै आएको पार्टी हो। यही मूलधारलाई कमजोर पार्ने प्रयास अहिले भइरहेको छ।”
बैठकमा ओलीले पार्टी संगठन सुदृढीकरण, राजनीतिक स्थायित्व र आगामी रणनीतिबारे पनि निर्देशन दिएका छन्।