काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरू र सरकारबीच भएको छलफलमा वार्ताका लागि समिति गठन गर्ने सहमति भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बिहीबार सिंहदरबारमा सम्पन्न बैठकमा सरकार र जेनजी पक्षबीच वार्ताको औपचारिक संयन्त्र तयार गर्ने सहमति भएको छ ।
बैठकमा दुवै पक्षले संवादमार्फत समस्या समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए । वार्ता समिति जेनजी पक्षबाट गठन गरिने र समितिले आन्दोलनको म्यान्डेटअनुसार सरकारसँग समझदारीका लागि पहल गर्नेछ । वार्ताको समन्वय र आवश्यक सहजीकरणको जिम्मा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाललाई दिइएको छ ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू र जेनजी आन्दोलनका प्रतिनिधिहरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउँद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी उपस्थित थिए ।