काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमयुक्त सूचीबाट बाहिरिन फेरि असफल भएको छ। फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)मा निरन्तरता दिएको हो।
एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गर्ने गर्छ।
यसअघि नेपाल सन् २००८ मा उक्त सूचीमा परेको थियो भने सन् २०१४ मा सूचीबाट बाहिरिएको थियो। तर पछिल्ला वर्षहरूमा आवश्यक सुधार पर्याप्त नभएको निष्कर्षसहित नेपाल पुनः जोखिमयुक्त सूचीमा कायम रहेको छ।
एफएटीएफले नेपाललाई कानुन कार्यान्वयन, वित्तीय क्षेत्रको निगरानी तथा उच्च जोखिम भएका क्षेत्रको नियन्त्रणमा थप सुधार गर्न सुझाव दिएको छ।

