समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र आइडियल यमुना बचत तथा ऋण सहकारीका ८२ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार लालीगुराँस सहकारीका ७० जना र आइडियल यमुना सहकारीका १२ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाट बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।
हालसम्म लालीगुराँस सहकारीका ३०८ जना बचतकर्तालाई रकम फिर्ता गरिसकिएको समितिले जनाएको छ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिइएको र बचत रकमको आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने बताइएको छ। समितिका अनुसार देशभरका समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। तीमध्ये धेरैजसो साना बचतकर्ता रहेको उल्लेख गरिएको छ।
पाँच लाख रुपैयाँभन्दा कम बचत भएकालाई साना र सोभन्दा बढी बचत भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। समितिले सम्पत्ति व्यवस्थापन र ऋण असुलीबाट प्राप्त रकमका आधारमा कानुनी प्रक्रिया अनुसार बचत फिर्ता कार्य निरन्तर जारी रहने जनाएको छ।

