काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाका लागि नयाँ व्यवस्था लागू गरेको छ। संशोधित एकीकृत निर्देशनअनुसार अब बैंकहरूले अनुसन्धान निकायको मौखिक वा लिखित अनुरोधमा वित्तीय अपराधसँग सम्बन्धित बैंक खाता तत्काल रोक्का गर्नुपर्नेछ।
राष्ट्र बैंकले जारी गरेको संशोधित व्यवस्थाअनुसार कुनै कसुरको अनुसन्धान गर्ने वा कानुन कार्यान्वयन गर्ने अधिकारीको अनुरोध प्राप्त हुनासाथ सम्बन्धित बैंक तथा वित्तीय संस्थाले शंकास्पद खाता अल्पकालीन अवधिका लागि रोक्का राख्ने व्यवस्था मिलाउनुपर्नेछ।
यसका लागि प्रत्येक बैंक तथा वित्तीय संस्थाले आफ्नो आधिकारिक वेबसाइटमा २४सै घण्टा सम्पर्क गर्न सकिने विशेष सम्पर्क नम्बर (Dedicated Contact Number) सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। अनुसन्धान अधिकारीहरूले जुनसुकै समयमा उक्त नम्बरमार्फत सम्पर्क गरी आवश्यक जानकारी वा खाता रोक्का सम्बन्धी अनुरोध गर्न सक्नेछन्।
राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवासम्बन्धी निर्देशन कार्यान्वयनमा ढिलाइ भएमा सम्बन्धित बैंक तथा जिम्मेवार अधिकारीलाई नै जवाफदेही बनाइने स्पष्ट गरेको छ। साथै, खाता रोक्का वा फुकुवाको प्रक्रिया सम्पन्न भएपछि त्यसको सम्पूर्ण विवरण राष्ट्र बैंकको सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआईएस) मार्फत अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, अनुसन्धान वा कानुन कार्यान्वयन गर्ने निकायले कुनै खातासम्बन्धी विवरण मागेमा बैंक तथा वित्तीय संस्थाले सोझै र यथाशीघ्र उपलब्ध गराउनुपर्ने प्रावधान पनि समावेश गरिएको छ।
राष्ट्र बैंकको यो कदमले वित्तीय अपराध नियन्त्रण, शंकास्पद कारोबारको निगरानी तथा अनुसन्धान प्रक्रियालाई थप छिटो, प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

