काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पुँजी बजारका लगानीकर्ताको हित र लगानीको सुरक्षालाई केन्द्रमा राखेर कुनै पनि प्रकारको लोभ, प्रलोभन वा प्रभावमा नपरी इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले डा. भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै पुँजी बजारमा लगानीकर्ताको विश्वास कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए।
मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले डा. गोपालप्रसाद भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारलाई स्पष्ट कार्ययोजनासहित अघि बढाउन निर्देशन दिँदै दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न आग्रह गरे।
उनले बजारमा फैलाइने अनावश्यक हल्ला र अफवाहका कारण साना लगानीकर्ता त्रसित हुने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै नियामक निकायको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताए।
‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्। सरकार तपाईंको साथमा छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको वातावरण बनाउन ध्यान दिनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने।
उनले धेरै भाषणभन्दा परिणाममुखी काम आवश्यक रहेको उल्लेख गर्दै सुधारका योजनाहरू निश्चित समयसीमाभित्र कार्यान्वयन गर्न निर्देशन दिए।
‘पुँजी बजार सुधारका योजनाहरू समयसीमा तोकेर कार्यान्वयन गर्नुहोस्। बजारमा विश्वास बढाउँदै नियमनलाई प्रभावकारी बनाउनुहोस्। मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन। धेरै बोलेर होइन, काम गरेर देखाउनुहोस्। मलाई हरेक हप्ता बजारको प्रगति विवरण चाहिन्छ,’ उनले भने।
कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सरकारको नीति तथा अर्थमन्त्रीको निर्देशनअनुसार पुँजी बजारको विकास र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई पुँजी बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न उपयोग गर्ने बताए।
साथै, विगतमा पुँजी बजार सुधारका लागि भएका अध्ययन, सुझाव र सिफारिसहरूलाई कार्यान्वयन गर्दै बजारलाई थप पारदर्शी, विश्वसनीय र व्यवस्थित बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

