काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर रु २० र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु ३० ले घटाएपछि महासङ्घले भाडा समायोजनको माग अघि सारेको हो।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि पारदर्शी, वैज्ञानिक तथा वस्तुगत आधारमा समायोजन हुनुपर्ने बताए।
उनले इन्धनको मूल्य बढ्दा भाडा वृद्धि गर्ने निर्णय हुने तर मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको उल्लेख गरे।
अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्रै नभई सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत वैज्ञानिक रूपमा मूल्याङ्कन गरी निर्णय गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

