- सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा देखिएका आर्थिक अनियमितता र विसङ्गति अन्त्य गर्दै विज्ञापन बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने बताएका छन्।
- राष्ट्रिय विज्ञापन संघ नेपालले सरकारी सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गरी सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न माग गरेको छ।
- संघले विज्ञापन एजेन्सीलाई बाइपास नगर्न र कानुनले तोकेको उनीहरूको भूमिका नीतिगत रूपमा सुरक्षित गर्न माग गर्दै कोभिडपछि प्रभावित विज्ञापन व्यवसाय पुनरुत्थानका लागि सरकारी पहल खोजेको छ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन सरकारले विज्ञापन चक्रमा सुधार गर्ने बताएका छन् ।
राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) का पदाधिकारीले आइतबार मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा विगतमा देखिएका विसङ्गति अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।
संघले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्रै दिने विगतको निर्णय खारेज गर्ने सर्वोच्च अदालतको आदेश तत्काल कार्यान्वयन गर्न माग गरेको छ । संघका अनुसार सर्वोच्च अदालतले २०८३ असार ३० गते उक्त निर्णयलाई प्रेस स्वतन्त्रता र समानताको हकविपरीत ठहर गर्दै बदर गरेको थियो ।

संघले सरकारी तथा निजी सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीमार्फत पारदर्शी रूपमा विज्ञापन व्यवस्थापन गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
संघले विज्ञापन एजेन्सी सरकार, सञ्चारमाध्यम र विज्ञापनदाताबीच महत्वपूर्ण सेतुका रूपमा रहेको उल्लेख गर्दै आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगका बीच एजेन्सीलाई बाइपास नगर्नसमेत माग गरेको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले निर्धारण गरेको एजेन्सीको दायरा र भूमिकालाई नीतिगत रूपमा सुरक्षित गर्नुपर्ने संघको माग छ ।

मन्त्री तिमिल्सिनाले हालै जारी राष्ट्रिय विज्ञापन नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विज्ञापन क्षेत्र व्यवस्थित बनाइने बताए । सरकारी विज्ञापन वितरणमा विगतमा देखिएका आर्थिक अनियमिततालाई सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले विज्ञापन चक्रसँग जोडिएका सबै पक्ष पारदर्शी र व्यावसायिक हुनुपर्ने बताए ।
डिजिटल माध्यमको विकाससँगै विज्ञापन गर्ने शैलीमा आएको परिवर्तनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले विज्ञापन क्षेत्रको विकासले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउन र रोजगारी सिर्जना गर्न योगदान पुर्याउने बताए ।

